
सिन्धुली, २८ असार । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ ।
सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।
राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ ।
राजमार्गमा रहेका सवारी साधनलाई सुरक्षका साथ राख्दै माटो पन्छाउनका लागि प्रहरी टोली त्यसतर्फ गएको छ । वर्षात् रोकिएपछि सडकको माटो पन्छाइने उनको भनाइ छ । यसअघि गत जेठ २९ गते पनि मध्यपहाडी राजमार्ग सिन्धुलीखण्डअन्तर्गत सुनामबेँसीमै माथिबाट माटाको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्गभन्दा माथिबाट नयाँ ग्रामीण सडकको नयाँ मार्ग खनिएकाले माथिबाट खस्ने लेदो माटाका कारण राजमार्ग अवरुद्ध हुने गरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ । गए रातिदेखि वर्षात् भए पनि जिल्लामा अन्य कुनै क्षतिको विवरण आएको छैन ।
सिन्धुलीका सम्भावित बाढी पहिराका उच्च जोखिम रहेका स्थानमा प्रहरीले सजगता अपनाउन आग्रह गरेको छ । जिल्लाका सबै प्रहरी एकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनले जानकारी दिए ।