
काठमाडौँ, २२ असार । प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।
लामो समय देखि नामका विषयमा बिवादमा आएको प्रदेश ४को नामकरणमा सहमती भएको छ । लामो समयदेखि छलफलमा रहेको प्रदेश ४ को नाममा सत्तापक्षकै तत्कालिन माओवादी मौन बसेपछि लम्बीएको थियो ।
पछिल्लो समयमा प्रदेशको नाम गण्डकी राख्ने सहमती भएको एक सांसदले जनाकारी दिए । संविधानको धारा २ सय ९५ ले प्रदेश नामकरणबारे व्यवस्था गरेको छ।
उक्त धाराको उपधारा २ ले भनेको छ, ‘प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुनेछ।’ नामकरणबारे प्रदेशसभामा बिहीबारदेखि सुरु छलफलमा भाग लिएका १७ मध्ये १६ जनाले गण्डकीको पक्षमा समर्थन जनाएका थिए ।


















