काठमाण्डौ, १८ असार । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सर्वसत्तावाद र अधिनायकबादले लोकतन्त्रलाई संकटमा पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९५ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौमा गरेको लोकतन्त्रको संरक्षणमा प्रेसको भूमिका विषयक कार्यक्रममा बोल्दै महतले त्यस्तो बताएका हुन् ।
नेता महतले अहिलेको सरकार सर्वसत्तावाद र अधिनायकवाद तर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र यसलाई बचाउन पत्रकारले कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचेतक तथा केन्द्रिय सदस्य पुष्पा भुसालले लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रता कायम हुने बताइन् । एफईएसको सहयोगमा सञ्चालन भएको कार्यक्रममा पत्रकार देव प्रकाश त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए भने युनियनका पूर्व अध्यक्ष समिरजंग शाहले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु हरीहर विरही, डा.सुरेस आचार्य, महासचिव रमेश विष्ट, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र एफइएसका डा.चन्द्र देव भट्टले प्रेस स्वतन्त्रता र लोकतन्त्र एक अर्काका पुरक भएकोमा जोड दिए ।
कार्यक्रममा सहभागिहरुले स्व. कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको चर्चा गरेको प्रेस युनियनका उपाध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।