काठमाडौँ, १८ असार । प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।
विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धि हासिल गर्न पूँजी परिचालन गर्नुपर्ने र त्यसका लागि राजश्व उठाउनाका साथै वैदेशिक ऋण लिनुपरेको स्पष्ट पार्नुभएको थियो । डा. खतिवडाले बजेटमा लिइएको आन्तरिक ऋण राज्यका दायित्व निर्वाह गर्न खर्च गरिने बताउँदै ऋणको ब्याज बोलकबोलका आधारमा लिइने स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथिको छलफलमा भाग लिँदै आन्तरिक ऋणको उचित व्यवस्थापन नभए अर्थतन्त्रमा नकारात्मक र दूरगामी प्रभाव पर्नेछ भन्दै गत आवको जति मात्र आन्तरिक ऋण उठाउन सुझाउनुभएको थियो । छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बजेटमा लिइने ऋणको ब्याजदरका बारेमा प्रश्न गर्नुुभएको थियो ।
बैठकले ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ विधेयक पनि बहुमतले पारित गरेको छ । बैठकमा डा खतिवडाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा विधेयकका सम्बन्धमा प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले राख्नुभएको संशोधनको प्रस्ताव बहुमतले अस्विकृत गरेको थियो ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित
आजैको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले शान्ति प्रक्रियाका केही काम अझै टुङ्ग्याउन बाँकी रहेकाले विधेयक ल्याउनुपरेको बताउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार २० गते अपराह्न १ बजे बस्नेछ ।