काठमाडौँ, १८ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Advertisement

विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ भन्नुभयो ।
सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिनुभयो ।

सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताउनुभयो ।

सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिनुभयो । सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गर्नुभयो ।

सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताउनुभयो ।

सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद नन्दा चपाईंले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणा शासनविरुद्ध अरुण नदीमा हाम फाल्नुपर्ने कारणका बारेमा अध्ययन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने जानकारी गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!