काठमाडौँ, १६ असार ।  पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन ।

Advertisement

२०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा भएको घट्ना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई कैदीबन्दी गरिएकोमा आपत्ति प्रकट गरिन ।

उनले भनिन्,‘नेपालका चौधरी गौतम बुद्धका सन्तती हौं, हामीलाई हिंसा गर्न आउँदैन, बुद्धको दर्शन र मार्गमा हामी हिँड्ने मानिस हौं, टिकापर घट्ना राज्यले घटाएको हो, त्यो घट्ना राजनीतिक थियो, राजनीतिक रुपमै त्यसको समाधान खोज्नुपर्छ, सरकारको प्रत्यक्ष निगरानीमा ८ वटा प्रतिबेदनहरु तयारी पारिएका छन् ती सार्वजनिक किन गरिएन ? हामीले पहिलेदेखि नै भन्दै आएका छौं, त्यो घटनामा थारुहरुका घरहरु जले, ठूलो क्षति भयो, महिलाहरुको अस्मिता लुट्ने काम भयो, त्यसका बारेमा सरकारले किन छानविन आयोग गठन गरेन ? त्यसको लेखाजोखा किन भएन ?’

टिकापुर घट्नालाई थारु आन्दोलनलाई समाप्त पार्ने अस्त्रका रुपमा राज्यले लिएको बताउँदै पूर्व सभासद चौधरीले भनिन्,‘यदि टिकापुर घट्नालाई लिएर थारु समुदायलाई प्रभावित पार्ने र हत्यारा बनाईन्छ भने, १७ हजार मान्छे मार्ने प्रचण्डलाई जेल हाल्नुपर्यो, झापा आन्दोलनको नाममा घाँटी काट्दै हिँड्ने प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्यो, उहाँहरु हो खासमा हत्यारा, हामी कसरी हत्यारा भयौं ? झुटा आरोपहरु लगाएर हामीमाथि जुन कार्य भैरहेका छन्, ती सबै गलत छन् ।’

रेशम चौधरीलाई सांसदको सपथग्रहण गराउन माग गर्दै पूर्व सभासद चौधरीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनताको कानूनी अधिकार भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेर सरकारले कानूनको धज्जी उडाएको समेत आरोप लगाईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!