म्याग्दी, १५ असार । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।

Advertisement

महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।

बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताए ।

“गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफैँले समेत जोत्ने गर्छौं”, केसीले भने ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितोरुपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।

गोरु पाल्न झन्झट हुने गरेको अवस्थामा आफूलाई आवश्यक परेको समयका लागिमात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताए ।

गोरुको विकल्पमा ट्र्याक्टरको प्रयोगले खेत रोपाइँलगायतको खेती गर्दा लागतसमेत कम लाग्ने उनको भनाई छ ।

स्थानीय कृषकसंग मिलेर शर्माले दुईवटा हाते ट्र्याक्टरका रुपमा चिनिने यान्त्रिक हलो रु ७० हजारमा खरिद गरेका छन् । यसका लागि रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताए ।

“परम्परागत रुपमा खेत जोत्नका लागि वर्षभरि गोरु पाल्नु पर्दथ्यो, गोरु पाल्दा लागत पनि बढी हुन्छ, साँध सिमानामा रहेका अन्य व्यक्तिको बाली खाइदिने डर पनि हुन्छ, तर यान्त्रिक हलोले जोत्दा समग्रमा छिटो र छरितोसँगै लागतसमेत कम हुन आउँछ”, सुवेदीले भने ।

कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले रघुगंगा गाउँपालिकाले प्रविधिमैत्री कृषितर्फ कृषकलाई आकर्षित गर्ने नीति लिएको छ । यस वर्ष गाउँपालिकाले कृषकको मागबमोजिम सातवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको छ ।

गाउँपालिकाले पिप्ले र मौवाफाँटमा चार, भगवती, पाखापानी र चिमखोलामा एक एकवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि संयोजक चन्द्रकुमार आलेले जानकारी दिए ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने भएकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

“गाउँघरमा जनशक्तिको अभाव छ, गोरु पाल्नका लागि घाँसदेखि गोठसम्मको बन्दोबस्त गर्नुपर्ने झन्झटलाई हटाउन प्रविधिमैत्री कृषिमा जोड दिएका छौँ, उनले भने , “यान्त्रिक हलोतर्फ कृषकलाई आकर्षित गराएर व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ ।”

जिल्लाको रघुगंगा गाउँपालिकासँगै मंगला, धौलागिरि र मालिका गाउँपालिकाले समेत यस वर्ष कृषकलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!