काठमाडौं, १२ असार । आफूले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासले रिहा हुने वित्तिकै आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
२५ चैत ०७४ को बिहान २ बजेतिर शौच गर्न निस्किएको वेला उनीमाथि बिराटनगरको जतुवामा गोली प्रहार भएको थियो । पछि अनुसन्धानका क्रममा उनी आफूले आफैंलाई गोली हान्न लगाएको खुलेपछि जिल्ला प्रहरी कार्यालय, मोरङले पक्राउ गरेको थियो ।
उनी ८ असारमा जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । पत्रकार सम्मेलनमा उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।
‘घटनाको दोषी खोज्ने क्रममा राज्यपक्ष असफल भएकाले झुठा अभियोग सहितको अनुसन्धानको भरमा सत्य, तथ्य छानविन नगरी उल्टै म र मेरा उपचारमा संलग्न भक्तजन तथा सहयोगीहरुलाई घटनाकार भनि मुद्दा चलाउने कार्य भयो’, उनले भने, ‘यस कार्यबाट वास्तविक अपराधिले उन्मुक्ति त पायो–पायो । उल्टै म लगायत मेरा सहयोगीहरु पनि राज्यको अनुसन्धान क्रमका सिकार भएका छौं ।’