काठमाडौँ, ११ असार । सरकारले कक्षा १० को एसइई परीक्षाको नतिजामा लागू गरेको अक्षरांकन प्रणाली (ग्रेडिङ सिस्टम) प्रति अझै पनि विद्यार्थी, अभिभावक, शिक्षक अन्यौलमा पर्ने गरेका छन् । अक्षरांकन प्रणालीमा नतिजा प्रकाशन हुन थालेको दुई शैक्षिक सत्र बितिसक्दा पनि विद्यार्थी र शिक्षकमा अन्योलता यथावत छ ।
परिक्षा नियन्त्रण कार्यालय भक्तपुर ठिमीले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गरेको छ । उत्कृष्ट नतिजा ल्याउनेलाई ‘ए प्लस’ र कम ल्याउँनेलाई ‘ई’ ग्रेडमा वर्गीकरण गरिएको छ । विशेषतः एसइई दिएका विद्यार्थी कुन गे्रड आए कुन विषय पढ्न पाइन्छ भन्नेबारे नबुझ्दा निकै समस्यामा पर्ने गरेका छन् ।
सरकारले एसइईको नतिजाबाट सुरू गरिएको गे्रडिङ प्रणाली अहिले कक्षा ११ र ८, लगायत अन्य तहको नतिजा प्रकाशनमा समेत लागू गरेको छ । विद्यार्थीको परिक्षामा पाएको ग्रेडको आधारमा विषयवस्तु छनोट गर्न पाउने व्यवस्था छ । यति मात्र हैन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले समेत डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुनका लागि ग्रेडिङको मापदण्ड तोकेको छ ।
सरकारले निर्धारण गरेको मापदन्डअनुसार एसइईको परीक्षामा २.० जिपिए ल्याएकाले विज्ञान विषय पढ्न पाउने छन् ।
यसका साथै, गणित र विज्ञान विषयमा ‘सी’का साथै अंग्रेजी, नेपाली र सामाजिकमा ‘डी’ प्लस ल्याएको हुनुपर्छ । व्यवस्थापन विषय अध्ययनका लागि १.६ जिपिए आउनुपर्छ भने, अंग्रेजी, नेपाली, गणित र सामाजिकमा ‘डी’ प्लस हुनुपर्छ । मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि १.६ जिपिए आउनुका साथै नेपाली, सामाजिक र अंग्रेजीमा ‘डी’ प्लस हुनुपर्छ । विषयगत विषय अध्ययनका लागि पनि निर्धारित ग्रेडिङ ल्याउनुपर्ने व्यवस्था छ ।
अर्थशास्त्र, कम्प्युटर साइन्स, मनोविज्ञान, टिचिङ म्याथम्याटिक्स, इलिमेन्ट अफ फाइन्स, ज्योतिष, विजेनस, गणित, भूगोल, एकाउन्ट, विजेनस म्याथ प्लस टुमा अध्ययनका लागि एसइईको परीक्षामा १.६ जिपिए ल्याउनुपर्छ । गणित विषयमा ‘सी’ र अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आएमा मात्र यी विषय लिइ प्लसमा अध्ययन गर्न सकिन्छ । प्राविधिक स्वास्थ्य विषय अध्ययनका लागि २।० जिपिएका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ प्लस हुनुपर्छ । इन्जिनियरिङ अध्ययनका लागि गणित र विज्ञानमा ‘सी’ प्लस ल्याउनुपर्ने मापदण्ड छ ।
कृषिसँग सम्बन्धित विषय पढ्नका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये एउटामा ‘डी’ प्लस हुनुपर्छ । इतिहास, राजनीति, संस्कृति, होम साइन्स, समाजशास्त्र दर्शन, लाइब्रेरी एण्ड इन्फरमेसेन साइन्स अध्ययन गर्नका लागि १.६ जिपिएका साथै, सामाजिक विषयमा ‘सी’ र अंग्रेजीमा ‘डी’ प्लस आउनुपर्छ । अंग्रेजी, वैकल्पिक विषय अंग्रेजी, शिक्षण अंग्रेजी र भाषासम्बन्धी अंग्रेजी अध्ययन गर्नका लागि १.६ जिपिएका साथै अंग्रेजीमा ‘सी’ र नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आउनुपर्छ ।
स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्नका लागि विद्यार्थीले एसइईको परीक्षामा न्यूनतम २.० जिपिए ल्याउनुका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ प्लस आउनुपर्छ । विज्ञान विषयअन्तर्गत पर्ने भौतिक, रसायन, जीव विज्ञान, गणित, कम्प्युटर विज्ञान र कृषि विषय अध्ययन गर्नका लागि २ जिपिएका साथै विज्ञान र गणित विषयमा ‘सी’ प्लस हुनुपर्छ भने अंग्रेजीमा ‘सी’ र नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस हुनुपर्छ ।
मासकम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि १.६ जिपिएका साथै अंग्रेजीमा ‘सी’ र नेपाली, गणित र सामाजिक विषयमा ‘डी’ प्लस आएमा मात्र प्लस टुमा यी विषय लिन सकिन्छ । वनस्पति विज्ञान, इलेट्रिक्ल इन्जिनियरिङ, जीव विज्ञान, सीभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता व्यवसायिक विषय अध्ययन गर्नका लागि १.६ जिपिएका साथै, विज्ञान, गणित र अंग्रेजीमा ‘सी’ प्लस हुनुपर्छ भने नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस ल्याउनुपर्छ ।
नेपाली र शिक्षण नेपाली अध्ययन गर्नका लागि १।६ जिपिएका साथै नेपाली विषयमा ‘सी’ र अंग्रेजी र सामाजिक विषयमा ‘डी’ प्लस हुनुपर्छ । भौतिक शिक्षा, रसायन शिक्षा , जीव विज्ञान शिक्षा र शिक्षण विज्ञान अध्ययन गर्नका लागि १.६ जिपिएका साथै विज्ञान र गणितमा ‘सी’ हुनुपर्छ भने अंग्रेजी, नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आउनुपर्छ ।
जापानी, उर्दु, जर्मन, चाइनिज, मैथली, हिन्दी, नेवारी, फ्रेन्च, लगायतका भाषाका विषयहरू अध्ययन गर्नका लागि एसइईको नतिजामा १।६ जिपिए र अंग्रेजीमा ‘डी’ प्लस हुनुपर्छ । त्यस्तै, पेन्टिङ, खेलकूद डान्स, गीत, पेन्टिङ, लगायतका विषय अध्ययन गर्न १.६ जिपिएका साथै अंग्रेजीमा ‘डी’ प्लस आएको हुनुपर्छ ।
साहित्य, वेद, नीतिशास्त्र, बुद्ध शिक्षा, कानुन, सामान्य कानुन, संस्कृत पढ्नका लागि एसइईको परीक्षामा १.६ जिपिएका साथै नेपाली, अंग्रेजी र सामाजिक विषयमा ‘डी’ प्लस ल्याउनुपर्छ । परिक्षा नियन्त्रण कार्यालयले जुनसुकै विषयमा सी, डी, डि प्लस र डि ल्याउँने विद्यार्थीलाई ग्रेडवृद्धिको अवसरसमेत दिने गरेको छ ।
सिटिइभिटी पाठ्यक्रम समितिले डिप्लोमा अन्तर्गतका इन्जिनियरिङका सम्पूर्ण कार्यक्रममा भर्ना हुनका लागि अंग्रेजी विषयमा कम्तीमा ‘डी’प्लस र गणित र विज्ञानमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै डिप्लोमा तहमै कृषि, फुड तथा डेरी टेक्नोलोजी र फरेस्ट्री विषय अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञान गरी तीन विषयमध्ये कुनै दुई विषयमा मात्र ‘सी’ ल्याए पनि हुने र एक विषयमा भने डी प्लसमात्र ल्याए पनि हुन्छ ।
डिप्लोमा इन होटल म्यानेज्मेन्ट उद्यमशीलता विकास विषय पढ्न एसइईमा अंग्रेजी, गणित र विज्ञानमा तीनै विषयमा कम्तिमा ‘डी’ प्लस मात्र ल्याए पुग्छ । सरकारले कक्षा १२ सम्म माध्यमिक तहमा परिणत गरी एसईई, कक्षा ८ देखि ११ र १२ को नतिजासमेत ग्रेडिङ प्रणालीमा निकाल्न थालेको छ । विद्यार्थीलाई फेल नगराउने योजनाअनुसार शिक्षामा ग्रेडिङ पद्धति लागू गरिएको हो । माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले ‘डी’ प्लस लाएका विद्यार्थीहरूले मात्र माध्यमिक तहमा अध्ययन गर्न पाउँछन् ।
‘डी’ प्लसभन्दा कम आउने विद्यार्थीहरूले माध्यमिक तह अध्ययन गर्न पाउँदैनन् । ग्रेडिङ प्रणाली, जिपिए बारे जानकार नहुँदा विद्यार्थीले निकै समस्या भोग्ने गरेका छन् ।