- संगालोखबर सम्वाददाता

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थिति  नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा घटना भएकाे हाे । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरेका छन । उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले गाेली चलाउँदा एकको मृत्यु भएको हो । घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बताइएकाे छ ।

मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि सो क्षेत्र तनावग्रस्त छ । थप अप्रिय घटना हुन नदिनका लागि प्रशासनले सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।

आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको छ । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!