कोलम्बो(श्रीलङ्का)। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा शनिवार थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुग्नुभएको छ ।

Advertisement

राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गर्नुभयो ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्टपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलले पनि उहाँलाई स्वागत गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विमानस्थलमा राखिएको सुवर्ण पुस्तिकामा हस्ताक्षर गर्नुभयो । राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्यता दिइएको स्थान हिलटोन जानुभयो । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ यहाँ आउनुभएको हो ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । यही वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म सोसम्बन्धी विशेष सम्मेलन गरिरहेको छ ।

श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नुहुने छ ।

राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अञ्जनकुमार मिश्र, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

तस्वीरहरु हेर्नुहोस् ।

तस्बिरहरु: शीतलप्रसाद महतो, कोलम्बो,श्रीलङ्का, रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!