- रासस

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिनुभयो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका निमित्त केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३÷७४’ तयार गरी सो अनुसारको स्थानीय तहमा वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको गृहमन्त्री निधीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था बारे गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै गृहमन्त्री निधि । तस्बिर: रोशन सापकोटा,रासस

निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइएको उहाँले जानकारी दिनुभयो ।

थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको मन्त्री निधीले बताउनुभयो । मत खसाल्ने काम सम्पन्न भएपश्चात् मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!