अनलाइनखबर

मलेसिया, ६ असार । राजविराज नगरपालिका वडा नम्बर १ सप्तरीका हरिनारायण दास र विन्दादेवी दासका तीन छोराहरु विदेशमा छन् । जेठो छोरा साउदी अरबमा, माइलो र कान्छो छोरा मलेसियामा छन् ।

Advertisement

तीन वटै छोराहरुले कमाएर भविश्यमा सुख पाउला भन्ने उनीहरुको सोचाइ यतिवेला निरर्थक जस्तै भएको छ । साउदी अरब पुगेका जेठो छोरा आफ्नो परिवार सम्हालेर छुटिभिन्न भएर बसेका छन् । माहिलो छोरा मलेसिया पुगेको सात वर्ष भयो तर, उनी परिवारको सम्पर्कमा छैनन् । कान्छो छोरा पनि करिब पाँच महिनादेखि मलेसियाको जेलमा छन् ।

यी दम्पतीको आफ्नो जग्गा जमिन छैन । ऐलानी जग्गामा सानो छाप्रोसम्म बनाएका छन् । त्यसैमा चिया पकाएर बेच्ने काम गरिरहेका छन् र त्यसैबाट उनीहरुको जिविकोपार्जन भैरहेको छ ।

२५ वर्षीय नवीनकुमार दास यतिबेला मलेसियाको जेलमा छन् ।  उनी कुनै ठूलो अपराध गरेर जेल परेका होइनन्, अवैधानिक भएको अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेको थियो । पक्राउ परेपछि मलेसियाको कानुनअनुसार उनले सजाय पाइसकेका छन् । तर हवाई टिकट दिने आफन्तहरु कोही नहुँदा उनी जेलको छिँडीमा दिनहरु कटाइरहेका छन् ।

हरि नारायणले नवीनलाई मलेसिया पठाउन करिब डेढ लाख रुपैयाँ ऋण खोजेका थिए । काठमाडौंमा रहेको क्रोमो म्यानपावरलाई चार वर्ष अगाडि एक लाख १० हजार रुपैयाँ बुझाएर उनी मलेसिया आएका हुन् । नवीनले मलेसिया आएपछि केही समय पठाएकै कम्पनीमा काम गरे । तर नेपालमा म्यानपावरले भनेजस्तो नभएपछि उनी कम्पनी छाडेर अन्यन्त्र काम गर्न थाले । आफू आएको ऋण जसोतसो तिरे । अब कमाएर केही गर्छु भन्ने बेलामा काम गरेको ठाउँमा अध्यागमनले छापा हान्दा उनी पक्राउ परे ।

नवीन जेल परेको थाहा पाएपछि बुबाले उनलाई नेपाल ल्याउन निकै प्रयास गरे । गाउँको जान्ने बुझ्नेकहाँ पुगे । तर कतैबाट पनि भनेजस्तो सहयोग पाएनन् । ऋण मागेर भएपनि छोरा झिकाउने प्रयास गरे । तर कसैले पनि विश्वास गरेनन् । ऋण माग्न साहुकोमा  पुगे । साहुले जग्गा बन्धकी नराखिकन पैसा नदिने बताए ।

यसैबीच नवीनले जेलभित्रैबाट गाउँको साहुलाई फोन गर्ने मौका पाए । नेपाल फर्किएपछि बाबुछोरा मिलेर गाउँकै साहुकोमा कामु गर्न बस्ने भनेपछि साहुको मन पनि फेरिएको छ । ‘ऋण दिन्छु भनेका छन् छोरा आउँछ भनी जे सर्त मान्न पनि तयार छौं,’ ५५ वर्षका बुबा हरि नारायण र ५० वर्षकी आमा विन्दादेवीले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!