
काठमाडौँ, २ असार । अरबी पात्रो हिजरी सम्वत्अनुसार दशौं महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्।
शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ।
त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ। सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो। यसैगरी घण्टाघरमै रहेको काश्मिी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ। गत जेठ ३ गते शुक्रबारदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो। एक वर्षभित्र गरिएका पाप कटाउन रोजा गरिने उनले बताए।
एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो। पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्।


















