काठमाडौँ, १८ जेठ । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ ।
हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । उक्त पदहरुमा सरकारले लोकसेवा आयोग मार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।
तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुने संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा उल्लेख गरिएको छ ।
हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ ।
उक्त कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् । उनीहरुले सेवा परिवर्तन गर्न भने पाउने व्यवस्था भने छ ।