काठमाडौँ, १६ जेठ । सरकारले तीन महिनाभित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको बताएका हुन् ।
यसअघि पनि सरकारले राजमुकुट सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो । बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गूरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले स्पष्ट पारे । मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए ।
मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो । राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो ।
मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पार्नु भयो । सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको छ ।