काठमाडौँ, १० जेठ । क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ । नेपाली दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका हुन् ।
यो सजायँ गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो । त्यसअघिका अन्य तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा उनको केस फिर्ता लिइएको थियो ।
बिष्टले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा कैद भएको थियो ।अदालतमा उनीविरुद्ध सजायँ सुनाउने बेलामा उनी नेपालमा मुटुको उपचार गराइरहेकाले अदालतमा उपस्थित नभएको बिष्टका वकिलले बताएका थिए ।
जनवरीमा पिटरवर्ग छोड्नुअघि बेरोजगार रहेका बिष्ट ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा बस्थे । त्यहाँ उनले पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो ।
तीन फरक मितिमा लिइएका तस्वीरहरुमा उनले गत वर्षको सेप्टेम्बर र अगस्टमा कुकुरलाई दुर्व्यवहार गरेको दृश्य अदालतमा देखाइएको थियो । उक्त भवनकोे भर्याङको भित्तामा कसैले रगतको दाग देखेपछि मात्रै सेक्युरिटी क्यामेरा राखिएको थियो ।