रासस

गौशाला । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ ।

बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले तिनमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।

Advertisement

त्यस्तै बाटामा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फसी बाटो अवरुद्ध भएका छन् । वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ ।

वर्षाका कारण पटक पटक अवरुद्ध हुने गरेकाले जिल्लाका कुनै पनि बाटामा वर्षा भएको दिन बस नचलाउन जनकपुर अञ्चल बस व्यवसायी सङ्घले यसअघि नै पत्राचार गरिसकेको छ । बाटो अवरुद्ध भएपछि कुनै पनि सवारी साधन चलेको छैन ।

फाटफुट रुपमा आकस्मिक कामका गाडी मात्रै चलेको देखिन्छ । जिल्लाभित्र एक मात्र पक्की बाटो जलेश्वर–बर्दिबास सञ्चालनमा रहेको छ । अन्य बाटो अवरुद्ध भएपछि सो बाटामा यातायातका साधनको चाप बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!