
काठमाडौं, ६ जेठ। आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । दिल्लीसँग पराजित भएसँगै मुम्बई प्रतियोगिताबाट बाहिरियो ।
दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३-३ विकेट लिएका थिए ।
दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।















