काठमाडौं,१ चैत। भारत सरकारले तराई क्षेत्रका बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागी नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार नेपालका लागी भारतीय राजदूत मन्जिभसिंह पुरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको सहयोगमा तीन नदीका एकसय ७३ दशमलव १६ किलोमिटर तटबन्ध निर्माण भईरहेको छ भने नदि किनारसंगै सडक निर्माणको कार्यपनि सँगसँगैै भईरहेको छ ।
नदी तालीम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, बाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य अनुसार नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु¥याउने विश्वास नेपाल सरकारले लिएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा नेपाल भारतको दुई पक्षिय संयन्त्र मिलेर कार्य गर्ने बताउनुभयो ।
भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणमा क्रममा भएका समझदारीले दुईपक्षिय सहयोगलाई कार्यान्वयन गर्न सहज भएको उहाको भनाई छ । त्यस्तै भारतीय राजदूत पुरीले दुईदेशीय हितका लागी भारतले नेपाललाई सदैव सहयोग गर्ने भन्दै यसले नेपाली जनतालाई प्रत्यक्ष फाईदा हुने बिश्वास व्यक्त गर्नुभयो ।
उहाले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।