काठमाडौं, ३० वैशाख । सत्तारुढ दल नेकपा एमालेले जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने भारतीय सांसद कीर्ति आजादको भनाईको निन्दा गरेको छ ।
एमालेको बैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति निकालेर भाजपाका सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्नुभएको हो ।
यो भनाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथिको प्रहार रहेको विज्ञप्तिमा उल्लेख छ । सांसद आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नेपाल भ्रमण सुरु हुनु अघिल्लो दिन ट्विटरमा जनकपुरलाई भारतमै फर्काउनुपर्ने विचार व्यक्त गरेका थिए ।
एमालेका विदेश मामिला विभागले निकालेको विज्ञप्तिमा नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला आजादको ट्वीट निन्दनीय रहेको पनि उल्लेख गरिएको छ ।
भारतीय सत्तारुढ दलकै सांसदबाट नेपालको विरुद्धमा आएको अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित रहेको भन्दै विज्ञप्तिमा नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुन गरी उत्तेजनापूर्ण अभिव्यक्ति आए पनि नेपाल भ्रमणका क्रममा मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले आजादको भनाई स्वतः खण्डित भएको पनि उल्लेख गरिएको छ ।
यस्तै, एमालेले दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन आफ्नै नेतृत्वको सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
यसअघि नै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले कीर्तिकाे ट्वीटप्रति अापत्ति जनाउनुभएकाे थियाे ।