बनियानी (झापा)। स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ ।

Advertisement

विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन सफल भएका छन् ।

विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

विसं २०५३ मा १७ वर्षको उमेरमा रितु श्रम गर्न कतार जानुभयो । करिब २७ महिना कतारको बसाइ पछि उहाँ स्वदेश फर्किनुभयो । कतारमा सोचे अनुसारको आम्दानी नभएपछि उहाँ पुनः मलेसिया जानुभयो ।

मलेसियाबाट फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभयो । भण्डारीले रू २५ लाखको लगानीमा लक्ष्मी बङ्गुर फार्म सञ्चालन गर्नुभयो । सुरुमा उहाँले ४० वटा माउ बङ्गुर खरीद गरेर पाठापाठी उत्पादन सुरु गर्नुभयो । बङ्गुरपालनबाट छोटो समयमा मनग्य आम्दानी लिन सकिन्छ भन्ने बुझेर नै व्यवसाय थालेको उहाँको भनाइ छ ।

एक पटकमा एउटा माउ बङ्गुरले १६÷१७ वटा पाठापाठी पाउने गरेको उहाँ बताउनुहुन्छ । भण्डारीले अहिले मासिक रू चार लाख बराबरको पाठापाठी बेच्ने गर्नुभएको छ । “मासिक रु दुई लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले उत्पादन गरेका पाठापाठी अहिले भारतको सिक्किम, दार्जिलिङ, खर्र्साङलगायत ठाउँका व्यापारीले खरिद गर्ने गरेका छन् । “पाठापाठी खरिद गर्न अहिले व्यापारी घरमै आउँछन्,” उहाँले भन्नुभयो ।

उहाँले फार्ममा हेमयार र ड्यूर उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन हुन्छ । पाठापाठी प्रतिओटा रू चार हजार सम्ममा बिक्री हुने गरेको भण्डारीले बताउनुभयो । उहाँको फार्ममा दुई जनाले रोजगारी समेत पाएका छन् । सरकारले विदेशमा आफ्नो श्रम खर्चिरहेका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

“सरकारले व्यवसाय सञ्चालन गर्न युवालाई सहुलियतमा ऋण दिनुपर्छ,” उहाँले भन्नुभयो । पहुँच हुनेले किसानको नाममा सुविधा उपभोग गरिरहेकाले सरकारले अगुमन गरी वास्तविक किसानलाई राहत दिनुपर्ने भण्डारीको भनाइ छ । भण्डारीले यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट ‘बङ्गुर व्यवसाय प्रबद्र्धन कार्यक्रम’अन्तर्गत रु एक लाख अनुदान पाउनुभएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!