काठमाडाैँ, २० वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रिया निश्कर्षमा पुर्याउन आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई अध्यक्षबीच बिहान छलफल भएपनि विवादित भनिएको ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातबारे निश्कर्ष नआएको हो ।
दुई अध्यक्षबीच आजै पुनः छलफल हुने बताइएको छ । पार्टी एकता संयोजन समितिले विवादित विषयमा सहमति गर्ने अधिकार दुई अध्यक्षलाई दिए बमोजिम निरन्तर छलफल गरे पनि उनीहरु निश्कर्षमा पुग्न भने सकेका छैनन् ।
एमाले र माओवादीबीच वैशाख नै एकता गर्ने भनिए पनि विवादित विषय टुंग्याउन नसक्दा रोकिएको थियो । दुई दल संभव भएसम्म कार्ल माक्र्सको जन्म जयन्तीका दिन शनिवार पार्टी एकताको समयसीमा तोक्ने गृहकार्यमा छन् ।