काठमाडौँ, १९ वैशाख । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

Advertisement

आज गृह मन्त्रालयमा लागुऔषधसम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।” उहाँले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सुन तस्करको जालोसम्म पुगेर कारबाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुहोस् ।” उहाँले लागुऔषध नियन्त्रणसम्बन्धी जागरण र भण्डाफोर कार्यक्रम ल्याउन पनि निर्देशन दिनुभयो ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मात्रैै यसको नियन्त्रण सम्भव नभएको भन्दै समग्र नेपाल प्रहरी, अन्य सुरक्षा निकायलाई पनि यसमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । गृहमन्त्री थापाले लागुऔषधका भरिया मात्रै होइन यसको अन्तर्राष्ट्रिय कारोबारी, स्थानीय एजेन्टलाई समेत पक्राउ गर्नेगरी काम अघि बढाउन निर्देशन दिनुभयो ।

छलफलमा गृहसचिव प्रेमकुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईलगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!