
काठमाडौं, १६ वैशाख। बाजुरामा कर्णाली नदीमा हाम फालेका दुई झाक्री मध्ये एक झाक्रीको निधन भएको छ, भने एक जना बेपत्ता भएका छन् । शक्ति देखाउन भन्दै नदीमा हाम फाल्नेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षीय मान सिंह बिष्ट र सोही स्थानका जयबहादुर बिष्ट रहेका छन् ।
स्थानीयले बताए अनुसार उनीहरु स्थानीयलाई शक्ति देखाउन भनी आइतबार बिहान नदीमा हामफालेका थिए ।
नदीमा हाम फालेका मध्ये मान सिंह बिष्टको शव फेला परेको र जयबहादुर हराइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


















