काठमाडौं, ९ वैशाख । आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।
बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ का संयोजक एमाले सांसद कृष्णभक्त पोखरेलले समाज दुषित बन्दै गएकाले केही कानुनहरूमा कडाइ गरिएको बताए । सार्वजनिक जग्गा कब्जा गरी आफ्नो नाममा पास गरेमा वा गलत नियतले दुरुपयोग गरेमा पनि अब जेल बस्नु पर्ने भएको छ । छाउपडी प्रथा कायम राखे ३ महिना सम्मको जेल सजायँ हुने व्यवस्था गरिएको छ । पोखरेलले जापान, भारतका साथै अन्य देशमा पुगेर त्यहाँको कानुनी व्यवस्थाको अध्ययन गरी कानुन बनाइएको जानकारी दिए ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ र फौजदारी कसुर ऐन, २०७४ आगामी भदौ १ गते देखि लागू हुँदैछ ।
दोस्रो संविधानसभाको विधायन समितिले यी ऐन बनाएर संसद्बाट पास गरेको थियो । मुलुकी फौजदारी कार्यविधि (संहिता) को संयोजक तत्कालीन सांसद लक्ष्मणलाल कर्ण, मुलुकी देवानी (संहिता) को संयोजक राधेश्याम अधिकारी, फौजदारी कसुर सजायँ निर्धारण तथा कार्यान्वयनको संयोजक रामनारायण बिडारी र मुलुकी देवानी कार्यविधिको संयोजक रेवतीरमण भण्डारी रहेका थिए ।