काठमाडाैँ ९ वैशाख। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ।
नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोदीको भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो।
भारतको कर्नाटक राज्यको विधानसभा चुनावअघि वा पछि मोदीको नेपाल भ्रमण हुने चर्चा चलिरहेको थियो। कर्नाटक चुनाव मे १२ ९वैशाख २९० मा हुँदै छ भने मतपरिणाम मे १५ ९जेठ १० मा घोषणा हुनेछ। ‘ वैशाख अन्तिम साता वा जेठ पहिलो साताको सम्भावित मितिमा भ्रमणको तयारी भइरहेको छ। मोदीको आसन्न भ्रमणको तयारी गर्न सबै सरकारी संयन्त्रलाई अलर्ट गराइएको छ’, स्रोतले जानकारी दियो।
उता, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले पनि मोदी भ्रमणको तयारी भइरहेको स्विकारेका छन्। उनले भनेका छन्, ‘भ्रमणको मिति तय नभए पनि तयारी भने चलिरहेको छ।’परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्री ओलीको स्वागत गर्न चीन आतुर रहेको जनाएको थियो।
मोदीलाई नेपालमा स्वागत गर्ने कि आफू चीन जाने द्विविधामा रहेका ओलीले मोदीको स्वागत गर्नु उपयुक्त ठानेकाले उनको चीन भ्रमणअघि नेपालमा मोदीको स्वागतको तयारी भइरहेको बुझिएको छ। भारतीय संस्थापन पक्ष र ओलीबीच रहेका शंका/उपशंका मेटाउन पनि दुई देशबीच प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ।