- उज्यालो अनलाइन

युएई, ७ वैशाख । युएईमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेका छन् । जेलमा रहेकाको अवस्था बुझ्न यहाँका सबै जेलमा पुगेर नेपाली दूतावासले तयार पारेको प्रतिवेदनमा यो विवरण उल्लेख छ ।

Advertisement

दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई पठाउन तयार पारेको प्रतिवेदनमा ३६ जना नेपालीले हालै आममाफी पाएर नेपाल फर्कन लागेको उल्लेख छ । उनीहरुमध्ये कतिपयलाई विभिन्न अवसरमा युएईले आममाफी दिएको हो । अरु भने सजाय भुक्तान गरेर रिहा हुन लागेका हुन् । १७३ जना पुरुष र १२ जना महिला गरी १ सय ८५ जना नेपालीले अहिले पनि युएईका विभिन्न जेलमा छन् ।

युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका आठ वटा जेलमा पुगेर दूतावासका प्रतिनिधिले नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गरेको थियो ।

साथै स्थानीय प्रशासनका उच्च अधिकारी र ती नेपालीले काम गरेका कम्पनीका प्रतिनिधिसँग समेत भेटघाट गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।

भेटमा नेपाली कामदारलाई परेको मुद्दा र त्यसबारे गर्न सकिने समन्वयका लागि दूतावासले चासो देखाएको थियो । यसअघि पनि पटक पटक दूतावासले जेलमा पुगेर त्यहाँ रहेका नेपालीको अवस्था बुझ्दै आएको थियो । तर यहाँ रहेका सबै जेलमा दूतावासका प्रतिनिधि पुगेको यो चौंथो पटक हो । वर्षको दुई पटक सबै जेल पुग्ने योजना अन्तर्गत यो पटक सबै जेलको भ्रमण गरिएको हो ।

नियमित रुपमा यहाँका जेल पुग्ने र कैदी जीवन बिताइरहेका नेपालीको अवस्थाबारे बुझ्न सम्बन्धित प्रशासनसँग सम्बन्ध बढाउने प्रयास स्वरुप कुटनीतिक प्रयास पनि थालिएको छ । यस पटकको भ्रमणमा नवनियुक्त कार्यवाहक राजदूत फुँयालले जेल प्रशासन तथा माथिल्लो निकायका प्रतिनिधिसँग भेटेर छलफल समेत गर्नुभएको थियो ।

जेल भ्रमणपछि नेपालीको अवस्थाबारे प्रतिवेदन तयार पारेर परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई बिहीबार पठाइएको द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

कुन जेलमा कति नेपाली

युएईमा सबैभन्दा धेरै नेपाली बस्ने शहर दुवईमा रहेको सेन्ट्रल जेल अल अविरमा सबै भन्दा धेरै ६६ जना नेपाली छन् । तीमध्ये पाँच जना महिला छन् । आबुधावीमा रहेको अल आत्वा जेलमा एक महिला सहित ६४ जना छन् । त्यस्तै अलऐनको मनाशिर जेलमा एक महिला सहित १५ जना नेपाली छन ।

त्यस्तै सारजाहको जेलमा चार महिला सहित १३ जना र अजमान जेलमा एक महिला सहित १० जना नेपाली छन् । फुजेराहको जेलला ११ जना, रसअलखेमामा ४ जना र उम्मलक्विन जेलमा २ जना नेपालीले जेल सजाय भोगिरहेका छन् ।

जेलमा रहेका नेपालीसँग भेट्न कार्यवाहक राजदूत फुयाँल सहित द्वितीय सचिव अर्याल, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रमसहचारी मोतिराम भुसाल, तृतीय सचिव केशव पोखरेल, नारायण ज्ञवाली, जनसम्पर्क अधिकृत इरफान आलम र रजी अहमद लगायतका प्रतिनिधि पुग्नुभएको थियो ।

जाँडरक्सीका कारण जेल पर्ने बढे

जेलमा रहेका अधिकांश नेपाली रक्सी पिएर झैझगडा गरेका कारण कारगारमा पुगेका हुन । ९५ जना नेपाली रक्सीकै कारण जेल जीवन बिताइरहेका छन् ।

रक्सी पिएर गाडी चलाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने काममा संलग्न भएको आरोपमा १८ जना नेपाली जेल परेका छन् । कतिपयले त साप्ताहिक बिदाका दिन पेप्सी र कोकाकोलाका बोतलमा रक्सी राखेर पार्क तथा समुन्द्र किनारमा बसेर पिउँदै गर्दा पक्राउ परेका हुन् । युएईमा सार्वजनिक स्थानमा रक्सी पिउनु कानुन विपरित मानिन्छ ।

‘दूतावासको प्रतिनिधि भएर जेल पुग्दा लज्जित हुनु पर्ने अवस्था छ’ द्वितीय सचिव अर्यालले भन्नुभयो, ‘जेलमा नेपालीको अर्को नाम नै रक्सी पिउने र कुटपिटमा उत्रिने हिसावले परिचित छ । यस्ता कुरामा नेपाली कामदार सचेत नभए समस्या विकराल हुँदै जाने देखिन्छ ।’

अचारमा भाङ, धतुरो र मर्चा, जेलमा पुगेपछि मर्का

हत्या आरोपमा नौ जना नेपाली जेलमा छन् । जेल भ्रमणको क्रममा १६ बर्ष देखी कैदी जीवन बिताइरहेका अमरबहादुर बमदेखि केही महिना पहिले हत्या आरोपमा जेल परेका बुले तामाङ लगायतलाई दूतावासको टोलीले भेटेको थियो । उनीहरुको विषय जटिल भएकाले रिहाइ हुन समय लाग्ने दूतावासले जनाएको छ ।

जेलमा रहेका ६ जनालाई लागुऔषध ओसारपोसारमा संलग्न भएको आरोप लागेको छ । नेपालबाट अचारमा भाङ, धतुरो गाँजा तथा मर्चा मिसाएर ल्याउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जेलमा रहेका १० जना महिला भिजिट भिसामा युएई आई वेश्यावृत्ति जस्ता अवैध कार्यमा संलग्न भएका कारण पक्राउ परेको जनाइएको छ । त्यस्तै चोरी आरोपमा १५ जना र अवैधानिक रुपमा बसेको आरोपमा १८ जना नेपाली जेलमा छन् ।

कतिपयलाई पार्क तथा विभिन्न स्थानमा बसेर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । नक्कली कागजपत्र र नक्कली हस्ताक्षर गरी, तथा चेक बाउन्स गरेकाे अाराेपमा १४ जना नेपाली जेलमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!