Advertisement

बेनी, म्याग्दी, ६ वैशाख। रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवमं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थलको प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्द चौधौ अध्यायको दण्ड भागमा उल्लेख भएअनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ ।  श्रीमद्भागवत महापुराणमा कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभाष, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई पवित्र तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ ।

पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार ऋषि पुलहका नाति विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको थियो ।

रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको इतिहासविद् कृष्णबहादुर बानियाँ बताउँछन् ।

श्रीमद्भागवतजस्तो प्रशिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

इतिहासविद् बानियाँका अनुसार पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछैमा केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र ९साविकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि० लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलंकामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ ।

त्यसैगरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानीसमेतलाई एकीकृत रूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीयस्थल बन्न सक्ने सम्भावना देखिएकामा उनी जोड दिन्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!