भोजपुर । सरकारले एक नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेपनि राजनीतिक दलहरुले स्थानीय तहका उम्मेद्वारहरुको नाम भटाभट सिफारिस गर्न थालेका छन् ।

सात गाउँपालिका र दुईवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुखका लागि नेपाली कांग्रेस, एमाले र माओवादीले नाम सिफारिस गरिसकेका छन् ।

नेपाली कांग्रेसले षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेसका स्थानीय स्तरका प्रभावशाली नेता वीरबल राईलाई सिफारिस गरेको छ । कांग्रेसको गढ भनिएको अरुण गाउँपालिकाको प्रमुखका लागि भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र कार्कीलाई सिफारिस गरिएको छ ।

त्यस्तै अरुण गाउँपालिकाको उपप्रमुखमा बिनिता ढकाल र षडानन्द नगरपालिकाको उपमेयरमा सीता श्रेष्ठको नाम सिफारिस भएको छ ।

एमालेबाट अरुण गाउँपालिकाको प्रमुखमा शिवराज सापकोटाको नाम सिफारिस भएको छ । स्थानीय सरकारको नेतृत्व गर्नका लागि भन्दै सापकोटाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अरुण गाउँपालिकाको प्रमुखमा बिमल खड्काको नाम सिफारिस भएको छ ।

काँग्रेसले अन्य गाउँपालिकाको पनि नाम टुंगो लगाएको छ । उसले रामप्रसाद राई गाउँपालिकामा दिनेश कार्की, आमचोक गाउँपालिकामा रबिन राई, ट्याम्के मैयुम गाउँपालिकामा सरोज बस्नेत, पौवादुङ्मा गाउँपालिकामा शिशिर राई, साल्पा सिलिछोमा महेश राईको नाम सिफारिस गरेको छ ।

भोजपुर नगरपालिकामा टुंगो लागेन

भोजपुर नगरपालिकामा मेयरका आकांक्षी धेरै भएपछि केन्द्रमा सबैको नाम पठाउने तयारी भएको नेपाली कांग्रेस भोजपुरले बताएको छ ।

भोजपुर नगरपालिकाको मेयरमा पूर्वसभापति बालकृष्ण थापा, कैलाश आले लगायतले दावी गरेका छन् ।

अरुण गाउँपालिका बाहेक अन्य गाउँपालिका र नगरपालिकामा भने एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले उम्मेद्वारको नाम टुंगो लगाइसकेका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!