काठमाडौं, ३ वैशाख। ‘ब्रेन’सम्बन्धी रोग पहिचान गर्ने उपकरणको उत्पादन नेपालमै सुरु भएको छ । सिएमडिएन नामक संस्थाले ‘ब्रेन’सम्बन्धी रोग पहिचान र यस्ता रोगको अनुसन्धान गर्ने उपकरणको उत्पादन सुरु गरेको हो ।

Advertisement

सस्तो मूल्यमा गुणस्तरीय उपकरण उत्पादन गर्ने उद्देश्यले संस्थाले थ्रिडी प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले जानकारी दिए । उनले मुटुको इसिजी गरेजस्तो थ्रिडी प्रिन्टिङ मेसिनमार्फत मेडिकलमा आवश्यक पर्ने इइजी उपकरण बनाउन सुरु गरेको बताए । ‘अहिले उत्पादन सुरु भएको छ, केही समयपछि बजारमा आउनेछ,’ उनले भने । चिकित्सकहरूका अनुसार इइजी उपकरण टाउकोमा सेट गरी ब्रेनसम्बन्धी रोग भए–नभएको पत्ता लगाइन्छ ।

नेपालमा इइजी अत्यावश्यक
शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले नेपालमा इइजी उपकरण अत्यावश्यक भएको बताए । ‘यसका माध्यमबाट मानिसको ब्रेनको तरंग नाप्ने काम गरिन्छ,’ उनले भने । विशेषगरी छारेरोग भएका बिरामीको उपचारमा सहजता ल्याउने भए पनि पछिल्लो समय यसको प्रयोग विभिन्न रोगसँग जोडिएर आएको उनले बताए ।

डा. ओझाका अनुसार इइजी उपकरणको उत्पादन नेपालमा हुनु ठूलो उपलब्धि हो । ‘अहिले भारतबाट इइजी उपकरण खरिद गरी बिरामीलाई सेवा दिनुपर्दा केही महँगो पर्न गएको छ,’ उनले भने, ‘यदि नेपालमा उत्पादन भएमा बिरामीले सस्तो र गुणस्तरीय सेवा पाउनेछन् ।’ मानसिक रोग अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार इइजी परीक्षण गरेको नेपालमा एक हजार रुपैयाँ शुल्क लाग्छ । महँगो उपकरण भएका कारण यसको परीक्षण पनि महँगो पर्न गएको हो । उनले दुर्ईवटा उपकरणबाट अस्पतालले बिरामीलाई सेवा दिँदै आएको बताए । सातामा दुईपटक सेवा दिँदै आएको अस्पतालमा प्रत्येक पटक पाँचजना बिरामीको इइजी गरिन्छ ।

नेपालीलाई ठूलो राहत
इइजी उपकरणले ट्युमर, ब्रेनको आकार, उमेरअनुसार ब्रेनको मापन, मनोसामाजिक समस्या, एनेस्थेसिया, ट्रमा, मस्तिष्कले काम गरे–नगरेको, टाउको दुख्ने समस्याजस्ता महत्वपूर्ण केसको स्पष्ट जानकारी गराउँछ । निर्देशक कर्माचार्यले कसरी राम्रो सेवा दिने भन्नेमा आफूहरू केन्द्रित भएको बताए । इइजी उपकरण प्रभावकारी ढंगबाट उत्पादन भएमा नेपालीले ठूलो राहत पाउने डा. ओझाले विश्वास व्यक्त गरे । उनका अनुसार शिक्षण अस्पतालमा मात्रै प्रतिदिन पाँचजनालाई इइजीमार्फत उपचार गर्नुपर्छ ।

नेपालमा उत्पादित इइजीको मूल्य २५ हजार
निर्देशक कर्माचार्यका अनुसार हाल नेपालमा आएको इइजी उपकरणको मूल्य तीन लाखदेखि १० लाख रुपैयाँसम्म पर्ने गरेको छ । तर, नेपालमै बनेको इइजी उपकरणको गुणस्तर विदेशमा बनाएको भन्दा उच्च प्रकारको र मूल्य पनि सस्तो हुनेछ । स्वदेशमै उत्पादन गर्दा खर्च कम लाग्ने र सीधै खरिद गर्न सकिने भएकाले सस्तो पर्न गएको उनले बताए । यसको मूल्य नेपालमा २५ हजार रुपैयाँसम्म पर्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!