काठमाडाैँ, ३ वैशाख। वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला व्यवसायलाई लक्षित गरी सोमबारबाट बजार अनुगमन सुरु गर्ने भएको छ । मन्त्रालयले अलग्गै कार्ययोजना तयारी गरी अनुगमन गर्न लागेको हो । उपभोक्ता अधिकारविपरीत व्यवसाय गर्ने कसैलाई उन्मुक्ति नदिने संयन्त्रको विकास गरी अनुगमन थाल्न लागेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिएका छन् ।

Advertisement

आइतबार दिउँसो मन्त्री यादवले अनुगमनकारी निकायहरू आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभागलगायतसँग छलफल गरी प्रभावकारी अनुगमन थाल्ने निर्णय गरेको हो । उपभोक्ता ठग्ने ठूला व्यवसायीलाई कारबाही थालेपछि बजारमा सुधार देखिने उनको तर्क छ ।अबका अनुगमन ठूलाबाट हुन्छ र दोषी कोही भाग्न पाउँदैन,’ उनले भने, ‘त्यसपछि साना व्यवसायी आफैँ ठीक ठाउँमा आउँछन् ।

यद्यपि साना व्यवसायी पनि हाम्रो निगरानीमै हुन्छन् ।’ ठगी गर्ने उद्देश्य राखेका व्यवसायीलाई मन्त्री, सचिवको पहुँचबाट उन्मुक्ति पाउने सोच नपाल्न उनले सचेत गराएका छन् । मन्त्री यादवले पदभार ग्रहण गरेपछि प्रभावकारी अनुगमन गर्ने भन्दै आपूर्ति विभागलाई भइरहेको अनुगमन रोक्न निर्देशन दिएका थिए । त्यसपछि डेढ महिनायता बजार अनुगमन ठप्प भएको छ । अनुगमन रोकेपछि मन्त्रीले व्यवसायीअनुकूल निर्णय गरेको भनेर चौतर्फी विरोध भयो । त्यसवेला आफूलाई दबाब महसुस भएको उनले बताए ।

‘मैले मन्त्रालय सम्हाल्नेबित्तिकै अनुगमन रोकियो भनेर दिमाग खल्बलाउने काम भयो,’ उनले भने, ‘अनुगमन रोक्न कहिल्यै निर्देशन दिएको छैन ।’आपूर्ति विभागको अनुगमन संयन्त्रलाई लिएर चौतर्फी विरोध भइरहेकाले त्यसैलाई सुधार गरेर मात्र बजारमा जाने तयारी गरेको उनले बताए । व्यवस्थित र पारदर्शी अनुगमन गर्नकै लागि विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सरुवा गराएको उनको जिकिर छ । ‘विभागको नेतृत्व तहबाट जनताको अनुकूल हुने गरी अनुगमन नभएपछि हेरफेर गर्नुपरेको हो ।

मैले दोषी व्यवसायीलाई मुद्दा दर्ता गर्नु भनेर निर्देशन दिँदा पनि वास्ता भएन ।’अब मन्त्रालयले हल्ला फैलाएर अनुगमन नगर्ने जनाएको छ । छापामार शैलीमा व्यवसायीका फर्म, पसल, गोदाममा जाने र अनुसन्धान टुंगिएपछि मात्रै विषयवस्तु बाहिर ल्याउने मन्त्री यादवको भनाइ छ । ‘अनुगमन हुनासाथ व्यवसायीलाई चोर हो, फटाहा हो भनेर प्रचार गर्ने गरिन्थ्यो । अबका दिनमा त्यो हुँदैन,’ उनले भने, ‘तर, उपभोक्ता ठगेको पुष्टि भए पनि कुनै पनि व्यवसायीले अहिलेको जस्तो उन्मुक्ति पाउँदैनन् ।

सबैलाई चेत होस्, अबको अनुगमनले दोषी कसैलाई पनि छाड्दैन ।’ उनले विगतमा कानुनको कमजोरी देखाउने र मुद्दाको फायल नै कमजोर बनाएर पेस गर्ने गरेको उदाहरण भेटिएको बताए । अब अनुगमनका लागि अलग्गै कानुन अधिकृत राख्ने र सरकारी वकिलको कार्यालयले मागेबमोजिमको कागजात दिएर बलियो प्रमाणका साथ मुद्दा दायर गर्ने प्रणालीको विकास गर्ने मन्त्री यादवको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!