काठमाडौं । सरकारले संविधान संशोधन गर्ने र दुई चरणमा चुनाव गर्ने निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा बोलेका छन् । र, आफ्ना तीन अडान सुनाएका छन् ।

Advertisement

सोमबार एमाले स्थायी कमिटीको बैठक ओलीकै निवास बालकोटमा बसेको थियो । लगतै संसदमा विशेष समय लिएर प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गरे । सम्बोधनका क्रममा ओलीले संविधान संशोधन, स्थानीय तहको चुनाव दुई चरणमा गर्ने तयारी र बजेटबारे आफ्ना प्रष्ट अडान राखे ।

अडान नम्बर १ः संविधान संशोधन गर्न सकिँदैन

एमाले अध्यक्ष ओलीले नयाँ संविधान संशोधन विधेयक पहिलेको भन्दा पनि खतरनाक भएको बताएका छन् ।

सीमांकन हेरफेरसम्वन्धी संशोधन फिर्ता लिइएको भनेको त झुटो रहेछ भन्दै ओलीले भने, ‘यथार्थमा सीमांकन हटाउने होइन, खतरनाक ढंगले ल्याउने पो तयारी गरेको रहेछ । पहिले संविधानले प्रदेशसभाको सहमति विना हुँदैन भन्ने थियो । अहिले प्रदेशसभाको सहमति नचाहिने गरेर संशोधन आयो ।’

प्रदेशसभाको सहमति लिने व्यवस्थाले अवरोध गरेपछि चलाखीपूर्ण ढंगले त्यसलाई संशोधन गर्ने प्रस्ताव ल्याउनु ‘न रहे बाँस नरहे बाँसुरी’ भनेजस्तो भएको उनले बताए ।

आफूहरु सहमतिका साथ अघि बढ्न तयार रहेपनि सरकारले कुनै छलफल तथा परामर्श नगरेको भन्दै उनले प्रतिपक्षलाई अण्डरमाइन नगर्न चेतावनी दिए ।

उनले अघि भने, ‘बहुमत भयो भने जहाँ-जहाँ चाहियो फेर्दै जाने कि संविधान अनुसार चल्ने ?’

कसैको चुनावमा सहभागिताका नाममा देशहित विपरित संशोधन स्वीकार्य नहुने भन्दै एमाले अध्यक्ष ओलीले प्रष्ट शब्दमा भनेका छन्, ‘संविधान संशोधन हुन सक्दैन ।’

अडान नम्बर २ः बजेट जेठ १५ मै आउनुपर्छ

जेठ १५ मा बजेट ल्याउनु पर्ने संविधानिक व्यवस्था छ । तर, बैशाख ३१ र जेठ ३१ मा गरेर दुई चरणमा चुनाव हुने भएपछि बजेट के गर्ने भन्ने प्रश्न जन्मिएको छ ।

जेठ १५ मा बजेट ल्याउँदा निर्वाचन आचार संहिता लाग्नेछ । त्यसैले संशोधन वा अध्यादेशमार्फत एक पटकका लागि दोस्रो चरणको चुनाव पछि मात्र बजेट ल्याउने कि भन्ने छलफल सत्तारुढ दलहरुबीच भएको छ ।

तर, सोमबार संसदलाई सम्बोधन गर्दै ओलीले प्रष्ट शब्दमा भनेका छन्, ‘बजेट जेठ १५ मा आउनुपर्छ ।’

सोचबिचार गरेर नै जेठ १५ मा नै बजेट ल्याउने व्यवस्था गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

अडान नम्बर ३ः बजेट ल्याएर चुनाव अस्वीकार्य

एमाले अध्यक्ष ओलीले अहिले पनि पूर्व घोषित मिति बैशाख ३१ गते मै चुनाव गर्न सकिने बताए । दुई चरणको चुनावप्रति एमाले केही सकारात्मक देखिएको छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन असम्भव बनाउने खेलतिर नजान सरकारलाई आग्रह गरे ।

तर, बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसिकने उनले बताए । ‘जेठ १५ गते बजेट पेश गर्ने, अनि चुनावी बजेट भाषण गरेर चुनाव गर्ने ?’ ओलीले भने, ‘गजब छ, के लोकतन्त्रमा यस्तो हुनसक्छ ? आचारसंहिताले दिन्छ ? निश्पक्षता त्यसले दिन्छ ?’

बजेट ल्याएर गरिने चुनावमा चरम धाँदली हुने भन्दै एमाले अध्यक्ष ओलीले रोष्टममा उभिएर भनेका छन्, ‘बजेट जारी गरेर चुनाव स्वीकार हुन सक्दैन ।’-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!