काठमाडौँ, २७ चैत। नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ । चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । अहिलेसम्म कांग्रेसले २००७ सालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि आन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनको नेतृत्व गरेको छ । नेपालमा जति पनि ठूला क्रान्ति र आन्दोलन भएका छन्, ती सबैको नेतृत्व कांग्रेसकै कारण भएको हो ।
कांग्रेस नेतृत्वकै सरकारले संविधानसभामार्फत संविधान जारी गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने तीन (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) तहको निर्वाचन सम्पन्न गरेको छ । राजनीतिक परिवर्तन र स्थायित्व कांग्रेस नेतृत्वकै सरकारका पालामा पूरा भएको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको छ । तर, यसको नेतृत्व भने कांग्रेसले पाउन सकेन । हालै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न भने असफल रह्यो । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धन बनाएर चुनावमा गएकाले कांग्रेसले धेरै सिट जित्न सकेन ।
यसपटक पार्टी सभापति शेरबहादुर देउवाले ट्वीटरमा ट्वीटमार्फत शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसको जन्मदिनको शुभकामना ! नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरु लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
काँग्रेसको इतिहास ठूलो छ । तर काँग्रेसका नेताहरु अहिले साँघुरो घेरामा गएको बताउन थालिएको छ । काँग्रेसले यसै दिनको अवसरमा ठूलो मन्थन गर्नुपर्ने आवश्यकता पटक पटक औंल्याइएको छ ।
पार्टीको गरिमाका बारेमा जनजनमा जानुपर्ने जरुरी देखिएको पुराना नेताहरु नै बताउँछन् । तर काँग्रेसले आफ्नो गरिमा नै बिर्सदै गएको भन्दै पुराना नेताहरुको चित्त दुखाई छ ।