संगालोखबर सम्वाददाता

विराटनगर, २७ चैत । विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.शुनिल शर्माले नेपाली कांग्रेस उदयपुरका निवर्तमान सभापति नारायण कार्कीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् ।

गत मंसिरमा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम बिस्फोटमा परी गंभीर घाईते भई उपचाररत कार्कीका लागि नोबेल अस्पताल सञ्चालक डा.शर्माले सहयोग गरेका हुन् ।

Advertisement
उपचार सहयोगार्थ एक लाखको चेक हस्तान्तरण गर्दै डा.शर्मा ।

नोबेल अस्पतालमा आज कार्यक्रम गरी कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुलाई कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले उपचार सहयोगार्थ चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै डा.शर्माले संबिधानसभा सदस्यसमेत रहेका कार्कीको उपचारमा आर्थिक अभाव भईरहेको जानकारी पाएर सहयोग गरेको बताएका छन् । कार्यक्रममा कांग्रेस मोरङ सभापति लिम्बुले सहयोग रकम उपचाररत कार्कीसमक्ष तत्काल पुर्याईने जानकारी दिएका छन् ।

उपचारका लागि समस्या झेल्दै आएका कार्कीलाई सहयोग गर्न पार्टी केन्द्र र सरकारले ध्यान दिनुपर्नेमा सभापति लिम्बुले जोड दिए । निर्वाचनका घाईतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भनेपनि समुचित सहयोग नपाएको घाईते कार्की परिवारको गुनासो छ ।

कार्कीको उपचारमा सहयोग जुटाउँन संबिधानसभा सदस्यसमेत रहेका लिम्बुले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीसँगै ललितपुर कांग्रेसका जिल्ला सभापति मदनबहादुर आमात्य, धनकुटाका निवर्तमान जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ, कञ्चनपुरका निवर्तमान जिल्ला सभापति बहादुर सिंह थापा लगायतले पहल गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनका क्रममा उदयपुरको दनुवारबेसीमा अज्ञात समुहले कार्की सवार गाडीमा बम बिस्फोट गराउँदा उनीसहित करिव आधा दर्जन घाईते भएका थिए । घाईते कार्कीको राजधानीको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

उपचाररत कार्की ।

पार्टी अभियानका क्रममा घाईते भएतापनि कार्कीको उपचारका लागि पार्टीको केन्द्रिय नेतृत्वले वेवास्ता गरेको कांग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

नोबेल अस्पताल सञ्चालक डा.शर्माले केहिदिन अघि मोरङको सुन्दरहरैचाकी क्यान्सरपीडित नन्दकुमारी मगरको उपचारका लागि पनि एक लाख सहयोग गरेका थिए । उनले बिपन्न विरामीको उपचारार्थ नियमित सहयोग गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!