काठमाडौं, २६ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।
तथ्यको अतिरन्जनापूर्ण व्याख्या गरेर शून्यबाट समृद्धि सुरू गर्न लागेको भ्रम दिन खोजिएको छ” उनले भनेका छन् ‘ इतिहास आँजबाट सुरु हुन्छ भन्न खोजिएको छ। अहिलेसम्मको उपलब्धिलाई आँखा चिम्लिएको छ ।’
कांग्रेस नेता डा. प्रकाशशरण महतले स्वेतपत्रमा राम्रा कुरा छोप्ने र नराम्रा कुरा कांग्रेसले गरेको हो भन्न खोजिएको आरोप लगाए । ‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो भनेर प्रस्तुत गर्न खोज्नु भएको छ’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘उहाँहरु आफ्नो चुनावी बाचाबाट भाग्न खोज्नुभएको छ ।’