काठमाडौं, २३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

Advertisement

नेपाल वायु सेवा निगमको  विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । उनी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन बाकुमा छन् ।

ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!