
काठमाडौं, २२ चैत। प्रधानमन्त्री केपी ओलीको आगामी चैत २३ देखि २५ सम्मको भारत भ्रमणको टोलीबाट अर्बपति, नेपाली काँग्रेसका सांसद विनोद चौधरी विनोद चौधरीको नाम हटाइएको छ । नेपालका एकमात्रै खर्बपति चौधरीको नाम काँग्रेसकै भएका कारण हटाइएको जनाइएको छ ।
यसअघि एमालेबाट सांसद बनेका चौधरी कम्युनिष्ट पार्टीहरूप्रतिको वितृष्णाका कारण कांग्रेस प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छन् ।
प्रधानमन्त्री ओलीको टोलीमा कम्तिमा पनि ५० जनासम्म हुनेछन् । प्रधानमन्त्रीबाहेक तीनजना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, सञ्चारमाध्यमका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूलगायत झण्डै ५० जनासम्म हुने उच्च स्रोतको भनाइ छ ।
टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो । ओलीले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट प्रतिनिधिहरू समेट्ने तयारी गरेका छन् ।


















