काठमाडौँ, २१ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेट गर्नुभएको छ ।

Advertisement

सभामुखको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो ।

भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकामा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सभामुख महराले लामो विद्रोहलाई शान्ति प्रक्रियामार्फत् टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको बताउनुभयो ।

“शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ”–सभामुख महराले भन्नुभयो, “सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौँ ।” शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गर्नुभयो ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझै सुमधुर बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । राजदूतले नेपालले शान्ति प्रक्रियालगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकामा खुसी व्यक्त गर्नुभयो ।

भेटमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!