काठमाडौं, २१ चैत । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

Advertisement

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच वर्ष अघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिलो पटक हो ।

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । ‘४० मुलुकको कफी परीक्षण गर्दा नेपालको कफीले ९० स्कोर पाएर अब्बल बनेको छ,’ बोर्डका निर्देशक दीपक खनालले भने, ‘अब विश्व बजारमा नेपाली कफी प्रतिस्पर्धा गर्न सक्षम भएको छ ।’

फ्लेवर, टेस्ट, एसिडिटी, स्विटनेस लगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ । ८० अंक भन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बायर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अमेरिकामा रहेको कफी रिभ्यु डटकमले उक्त रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

धेरै मेहनतपछि आफ्नो बगानको कफी अब्बल बनेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । ‘धेरै वर्ष देखिको कफी प्रशोधनका विभिन्न चरण पूरा गरेर यो अवस्थामा आएका हौं,’ शेर्पाले भने, ‘कफी टिप्दा देखि भण्डारण प्रक्रियामा सानो गल्ती गरे पनि गुणस्तर कमजोर हुन्छ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!