धनकुटा, १६ चैत । धनकुटाको हिलेमा सञ्चालित पहिलो हिले फुड फेष्टिबल सकिएको छ । रामनवमीको अवसर पारेर हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन धनकुटाले फेष्टिबल आयोजना गरेको हो ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँच दिने फेष्टिबलमा अपेक्षाकृत अवलोकन र कारोवार भएको फेष्टिबल आयोजक समिति कोषाध्यक्ष मदन मैनालीले जानकारी दिए । उनका अनुसार फेष्टिबलमा करिव २० हजार आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । फेष्टिवलले स्थानीय खानाका परिकारको प्रवद्र्धनमा टेवा पुगेको मैनालीले बताए ।
चैत ११ गते रामनवमीको दिन फेष्टिबलमा अवलोकनकर्ता तुलनात्मक रुपमा बढी थिए । हिलेको तोङ्वा चौकमा आयोजित फेष्टिबलमा २४ वटा विभिन्न जातिका खानाका परिकारका स्टल राखिएको थियो । फेष्टिबलमा विषेशगरी स्थानीय खानाका परिकारलाई प्राथमिकता दिइएको फेष्टिबलका संयोजक खगेन्द्र विष्टले जानकारी दिए ।
सो अवसरमा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्ता खालका कार्यक्रमलाई धनकुटा नगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए । पर्यटकीय नगरी हिलेमा पर्यटकलाई लक्षित गरी गतिविधि संचालन गरिनुपर्नेमा जोड दिदै उनले हिलेको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । फेष्टिबलमा पर्यटकलाई थप मनोरञ्जनका लागि हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति राखिएको थियो ।