काठमाडौं, १५ चैत। धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने भएको छ ।

Advertisement

फाउण्डेसनले बिहीबार फेसबुकमा स्टाटस राख्दै अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यको संयोजन गर्ने निर्णयमा आफूहरू पुगेको जानकारी दिएको छ ।

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को यस फाउण्डेसनले अहिले ‘नमूना नेपाल’ निर्माण पनि अघि बढाएको छ । फाउण्डेसनले लेखेको स्टाटसमा भनिएको छ, ‘हामी नेपालीका लागि दुवै परियोजना महत्त्वपूर्ण छन्, नमूना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस्, कुनचाहिँ पहिला ?’

जवाफमा अधिकांशले क्रिकेट रंगशाला पहिला बनाउन सुझाव दिएका छन् ।

यस्तो छ स्टाटस :

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्भेको काम सकेर मास्टर प्लान, डीपीआर र ईआईएको प्रक्रियामा अघि बढिरहेका बेला चौतर्फीरूपमा विभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईंहरूले गरिदिनुपर्‍यो भनेर एक प्रकारको सुझाव अनि अनुरोध आइरहेकै थियो ।

हामीलाई दुवै परियोजना अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो चिन्ता थियो । सबैको इच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तरोन्नति अनि खेलाडीहरूको मनोबल बढाउन पनि हामी दुवै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।

नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभइ देशकै गरिमा उच्च राख्ने काम गरेको छ । यो अभियान धुर्मुस सुन्तली फाउण्डेसनको मात्रै नभइ राष्ट्रकै अभियान हो । फाउण्डेसनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै इन्टरनेसनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ ।

त्यही समितिको रोहबरमा इन्टरनेसनल क्रिकेट स्टेडियम बन्नेछ ।

हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

सबै मिलेर निर्धारित समयभित्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडीहरू उत्पादन गर्न सक्नेछौँ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होइन नेपाललाई नै आर्थिक समृद्धितर्फ अघि बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकीय गन्तव्य पनि हुनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीता भइरहँदा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरु नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपूर्ण सम्पदाहरूको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भूमिका खेल्नेछ ।

त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुवै परियोजना महत्त्वपूर्ण छन्, नमूना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस्, कुनचाहिँ पहिला ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!