महोत्तरी,१५ चैत । कैलालीकी राधा चौधरीमाथि निर्मम कुटपिट भएको घटना सेलाउन नपाउँदै महोत्तरीमा एक महिलामाथि कुटपिट र दुर्व्यवहार भएको छ । महोत्तरीको सुन्दरपुरमा रहेको सोन्मा गाउँपालिका (७ को वडा कार्यालयमै महिलामाथि कुटपिट र दुर्व्यवहार भएको हो । घटनामा वडाअध्यक्ष महेश (महेशी) यादवलेको प्रत्यक्ष संलग्नता पाइएको छ ।
सोही ठाउँका जेठाजु र बुहारीबीच नाजायज सम्बन्ध रहेको भन्दै फैसला गर्न वडा कार्यालयमा बसेको पञ्चायतमा स्थानीय अमृत यादवले महिलाका ५५ वर्षीय जेठाजुलार्इ लुंगीले बाँधेर निर्ममतापूर्वक कुटेका थिए ।
त्यसपछि महिलामाथि सोधपुछ गर्ने नाममा वडाअध्यक्ष यादवले कुटपिट गरेका थिए । त्यसक्रममा पुरूष र महिला दुवैले आफूहरू निर्दोष रहेको भन्दै याचना मागे पनि त्यहाँ जम्मा भएका स्थानीय रमिते बनेका थिए । कतिपयले अझै कुट्नसमेत उक्साएका थिए ।
कथित पञ्चायतको नाममा कानुन हातमा लिँदै अध्यक्ष यादवलगायतका व्यक्तिले वडा कार्यालयमै हिंसा गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।
स्थानीय निकायमा धेरै अधिकार रहेको भन्दै वडा कार्यालयमै कथित पञ्चायत बोलार्इ महिला कुट्ने अध्यक्ष यादवलार्इ अहिलेसम्म कारबाही हुन सकेको छैन ।
सामाजिक सञ्जालमार्फत घटना बाहिर आएपछि महोत्तरीक प्रहरी प्रमुख एसपी कुवेर कडायतले पीडितको घरमा सुरक्षाकर्मी पठाए पनि पीडितले उजुरी दिन इन्कार गरेका छन् ।
कुटपिट गर्नेहरूले धम्क्याएकाले पीडितले उजुरी दिन इन्कार गरेको स्थानीयले बताए । तर, उजुरी नपरे पनि घटनासम्बन्धी भिडियोलार्इ प्रमाण मानेर अनुसन्धान अगाडि बढाइएको एसपी कडायतले जानकारी दिए ।
वडा अध्यक्ष यादवलार्इ जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन प्रहरीको स्थानीय युनिटलार्इ पत्र पठाइसकेको भन्दै उनले अध्यक्ष यादव आफैँ नआए पक्राउ गरेर भए पनि उपस्थित गराउने र अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाउने प्रहरी प्रमुखले बताए ।
यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित
सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन् ।
घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरुले उनीहरुलाई वडा अध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै उनीहरु घर छाडेर गइसकेको बताए ।
छिमेकीहरुले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए ।


















