रत्ननगर, चितवन, १३ चैत । मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आज साँझ नियन्त्रणमा लिएको छ ।
साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताउनुभयो ।
टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उक्त बाघलाई निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिने र बुधबार मुख्य कार्यालय कसरामा पठाइने जनाइको छ । उक्त बाघ करिब चार/पाँच वर्षको भाले रहेको अर्यालले बताउनुभयो ।
मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो । त्यस्तै बाघ नियन्त्रणका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको चार हात्तीसमेत परिचालन गरिएको थियो ।