अनलाइनखबर

काठमाडौं, १३ चैत ।  गायिकाबाट माननीय बनेकी कोमल वली राष्ट्रिय सभामा आफूलाई फरक रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छिन् । मंगलबार उनले सभामा दोस्रोपटक भाषण गर्दा मिठो कविता सुनाइन् ।

‘म कला संगीत र साहित्य क्षेत्रबाट प्रतिनिधत्व गर्छु, मैले पहिलोपटक सम्वोधन गर्दा माननीय सदस्य ज्यूहरुले सांगीतिक भावबाट प्रस्तुतिकरणको माग पनि राख्नुभएको थियो । आज म शहीदहरुप्रति आफ्ना चार लाइन कविता समर्पित गर्दै आफ्नो भनाइ राख्ने अनुमति चाहन्छु ।’

Advertisement

त्यसपछि उनले शार्दूलविक्रीडित छन्दमा आफ्नो कविता सुनाइन्ः

‘तिम्रो जन्म हुँदा थियो क्षितिजमा दुर्भाग्यको बादल

कााप्थ्यो थरथर मेरो दण्ड युगको बज्दैनथ्यो मादल

चिर्दै चरचर अन्धकार तिमीले राको लिँदै हातमा

खोस्रे मार्ग कठिन बन्ने लहरा पन्छाउँदै रातमा

डाक्यौ प्रेम छरेर सत्य बहने संसार भेट्टाउन

नेपाली अनुहारका कलुषता खुर्केर मेटाउन

तिम्रो लक्ष्य थियो प्रद्विप्त रवीको आलोकलाई छुने

तिम्रो अाँट थियो अदम्य युगको दुर्गन्ध सारा धुने

सम्झी जेल र नेल प्यार घरको झस्केन अाँखा संगी

हाम्रा निम्ति लडेर गोली सहादा चस्केन छाती हगी

तिम्रो घाउ मलाई दुख्छ अहिले आएर कोखातिर

रोएझैं किन लाग्छ कोइली पनि वैधव्यमा आखिर

तिम्रो उत्सुक पाइला अझ पनि यै देशमा बाँकी छन्

तिम्रा दौतर सम्झना सहृदयी एइ देशमा बाँकी छन्’

कविता सिध्याएर भाषणलाई निरन्तरता दिँदै उनले यूरोपियन यूनियनको आलोचना गरिन् ।

‘हामीलाई सामान्य लाग्न सक्ला तर यूरोपियन इलेक्सन अब्जरभेसन मिसनले दिएको रिपोर्ट नेपालको छवी अन्तर्राष्ट्रिय स्तरमा धमिल्याउन प्रयासरत छ,’ उनले भनिन् ।

‘हामी अब पहिलेको स्थितिमा छैनौं, यो देश समृद्धिको यात्रामा अगाडि बढिसकेको छ । यदि हामी माननीयज्यूहरु सजक हुन सकेनौं भने आगाम दिनहरुमा यस्ता रिपोर्ट विभिन्न ठाउँबाट आउन सक्छन् ।’

वलीले आफ्नो भाषण टुंग्याउन भने पाइनन् । समय सकिएकाले सभामुखले उनलाई बस्न आग्रह गर्दै माइक काटेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!