क्यानबेरा, १३ चैत । अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ ।

बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो ।

Advertisement

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले युरोपमा पनि निकै लामो समयपछि यस्तो विषाक्त वस्तुको प्रयोगबाट स्तब्ध पार्ने खालको हमला गरिएको स्पष्ट गर्नुभयो ।

अष्ट्रेलियाले पनि दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले ती कूटनीतिज्ञलाई आफै देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका छन् ।

यसअघि संयुक्तराज्य अमेरिका, बेलायत र क्यानाडाले ती देशहरुमा अनावश्यक विषय र अवस्थामा जासुसी गरेको आरोप लगाएर केही रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरेका छन् ।

यसरी देश निकालामा परेका रुसी कूटनीतिज्ञको संख्या एक सय नाघेको बताइएको छ । यस्तो प्रकृतिको विषालु पदार्थको हमला गरिएका पूर्व रुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी परेका छन् ।


रुसद्वारा २३ बृटिश कूटनीतिज्ञ निकाला 

उता प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार रुसले पनि आफ्नो देशका विरूद्धमा चालिएका पछिल्ला कदमहरूको प्रतिवाद गर्ने भन्दै रुसबाट बृटिश कूटनीतिज्ञहरुलाई पनि निष्कासन गर्ने बताएको छ ।

रुसले २३ जना बृटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको निर्णय हालैमात्र सार्वजनिक गरेको हो ।

रुसको विदेश मन्त्रालयले रुसको राजधानी मस्कोमा रहेको बृटिश दूतावासका कूटनीतिक कर्मचारीलाई नै यसरी निष्कासनको तयारी गरेको हो ।

रुसले ती कर्मचारीहरुलाई एक साताभित्रमा देश छोड्न आदेश दिइसकेको छ ।

यही मार्च ४ मा पूर्व रुसी गुप्तचरमाथि भएको भनिएको यस्तो विषाक्त पदार्थसहितको हमलामा रुसको संलग्नता रहेको आरोप बृटिश सरकारको छ ।

त्यस आरोपछि बृटेनले २३ जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । त्यसै कार्यको अर्काे प्रतिक्रियास्वरुप रुसले पनि यसरी बृटिशमाथि यो कारबाही गरेर जवाफ दिएको हो ।

अमेरिकाद्वारा ६० जना निकाला 

उता संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई यसअघि नै देश छोड्न आदेश दिइसकेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।

अमेरिकाको सिटलस्थित रूसी महावाणिज्यदूतावासमा कार्यरत ती कूटनीतिज्ञलाई बन्द गराई त्यहाँ रहेका रुसीलाई देश छोड्न भनेको हो ।

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकेको छ । निष्कासन भएका रूसी अधिकारीले एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा अमेरिकी प्रशासनले गरेको यो अहिलेसम्मकै सबैभन्दा कडा निर्णय हो भनिएको छ ।

यसै विषयमा जर्मनी र फ्रान्सले पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् । यसरी यी रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने अभियान युरोपमा पनि पुगेको छ ।

यसैगरी युरोपेली यूनियनका सदस्य अन्य १४ राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरूप कडा कदम चाल्न सहमत भएका अर्काे एक समाचारमा जनाइएको छ ।

यसैबीच रूसले भने आफ्ना कूटनीतिज्ञहरुलाई फिर्ता पठाउने गरी गरिएका यी पछिल्ला निर्णयहरुको कडा शब्दमा विरोध गरेको छ ।

यस विषयमा प्रतिक्रियादिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापहरुको जवाफ उचित समयमा उचित रुपमा दिइने बताएको छ ।

यस विषयमा नवनियुक्त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै प्रतिक्रिया दिनुभएको छैन । तर रुसी विदेश मन्त्रालयले विभिन्न देशहरुका यी कदमहरुको कडा शब्दमा विरोध गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!