लहान, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत रसोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।

Advertisement

पक्राउ परेका दुवैजनालाई प्रहरी नियन्त्रणमा लिएर शिक्षा ऐनअन्तर्गत कारवाही गरिने जिशिअ महतोले बताए । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उनले जानकारी दिए ।

यसअघि परीक्षा शुरु भएकै दिन गत ८ गते मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्राह्मण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्काशन गरिएको थियो ।

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै सोही दिन ब्राह्मण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरी नरायण यादवलाई पनि निष्काशन गरिएको थियो ।

यसवर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जामटेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए ।

परीक्षा सञ्चालनका लागि ३८ परीक्षा केन्द्र तोकिएको छ । मर्यादित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न सुरक्षा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!