काठमाडौं, ९ चैत ।  प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ ।

सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघिका प्रधानमन्त्रीको भ्रमणमा दिल्लीबाहिरसमेत जाने कार्यक्रम हुने गरेकामा ओली भने २५ चैतमा दिल्लीबाटै स्वदेश फर्किने कार्यक्रम छ । तर, दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गर्न बाँकी छ ।

Advertisement

दिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारीले प्रधानमन्त्री भ्रमणको तयारी भइरहेको, तर मिति नटुंगिएको बताए । दिल्लीस्थित कार्यबाहक राजदूत भरतकुमार रेग्मी काठमाडौं गएर प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि दिल्ली फर्किंदै छन् । भ्रमणमा हुने औपचारिक एजेन्डाबारे गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

३ असोज ०७२ मा नयाँ संविधान जारीपछि पहिलोपटक प्रधानमन्त्री भएका ओली ७ देखि ११ फागुनसम्म भारतको राजकीय भ्रमणमा गएका थिए ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले तीनपटक फोनबाट मौखिक निमन्त्रणा दिएका छन् भने केही दिनअघि कूटनीतिक च्यानलबाट औपचारिक पत्र पठाएका छन् । ओली प्रधानमन्त्री भएपछि औपचारिक रूपमा निमन्त्रणा पछि भेटमा द्विपक्षीय कूटनीतिक च्यानलमा कुराकानी हुने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!