काठमाडौं, ८ चैत । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीको सहभागी रहने परीक्षा चैत २० गते सम्म सञ्चालन हुने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थीले परीक्षा दिनेछन् ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् । परीक्षाका लाग परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले देशभर परीक्षा सुरु भएको जानकारी दिएको छ ।
यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसईई परीक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । जिल्ला जिल्लाबाट शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको र परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी र कर्मचारी पुगिसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
पास हुनेले ११ मा नयाँ पाठ्यक्रम पढ्न पाउने
परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ ।
एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् । सरकारले हालै कक्षा ११ को पाठ्यक्रम परीमार्जनको निर्णय गरिसकेको छ ।
केन्द्रले लिने एसईई अन्तिम
केन्द्रले लिने एसईई परीक्षा सम्भवतः अन्तिम हुनेछ । किनकी आगामी वर्षदेखि प्रदेशले नै परीक्षा सञ्चालन गर्नेछ ।
यस वर्षको एसईई परीक्षाका लागि ७७ वटै जिल्लामा १ हजार ९ सय ५६ केन्द्र तोकिएको छ ।
प्रदेश १ मा ८४ हजार २ सय ९०, प्रदेश २ मा ७० हजार ४ सय २, प्रदेश ३ मा सबैभन्दा बढी १ लाख ८२ हजार, प्रदेश ४ मा ४८ हजार ९ सय ५४, प्रदेश ५ मा ७९ हजार, कर्णाली प्रदेशमा ३८ हजार र प्रदेश ७ मा ५५ हजार परीक्षार्थी सहभागी छन् ।