काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् ।

सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको एक मन्त्रीले बताए ।

कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगायो ।

र, चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्ने आशयसहितको परमादेश दिएको थियो ।

तर, सर्वोच्चले अन्तिम फैसला गर्नु अघि प्रकाश अर्याल पनि सर्वोच्च पुगेका थिए । सुरुमा उनको रिट दर्ता हुन सकेन । दर्ता भएपछि पनि उनको रिटको अझै सुरुवाई भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!